१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:१६:oo
Read Time : > 5 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

युरोपको सपना देखाएर ठगी

Read Time : > 5 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:१६:oo

नेदरल्यान्ड, क्रोएसिया, माल्टालगायतका देश पठाइदिने भन्दै १४ युवाबाट करिब डेढ करोड ठगी गर्ने मुन ह्युमन रिसोर्सेसविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा

पछिल्लो समय नेपाली युवाको आकर्षण युरोपियन मुलुक हुन थालेको छ । राम्रो सेवा–सुविधा तथा भविष्यमा परिवारसहित ती मुलुकमै स्थायी रूपमा बस्न पाइने भएपछि नेपाली युवाहरूमा युरोपप्रतिको मोह बढ्न थालेको हो । 

नेपाली युवाहरूको युरोप सपनाको फाइदा उठाउँदै म्यानपावर व्यवसायी तथा दलालहरूको ठगी धन्दा फस्टाउन थालेको छ । युरोपको विभिन्न मुलुकमा पठाइदिने, आकर्षक तलब तथा सेवा–सुविधा पनि पाइने भन्दै युवाहरूबाट दलालले मोटो रकम असुल्न थालेका छन् । रकम असुलेपछि भने दलालहरू सम्पर्कविहीन हुने गरेको प्रहरीमा परेको ठगीसम्बन्धी उजुरी र पक्राउ परेका घटनाले पुष्टि गर्छ ।

युरोप सपनाकै कारण १४ जना युवा काठमाडौंको त्रिपुरेश्वरस्थित मुन ह्युमन रिसोर्सेस म्यानपावर कम्पनीबाट ठगिएका छन् । सो कम्पनीले नेदरल्यान्ड, क्रोएसिया, माल्टालगायत मुलुकमा लगिदिने भन्दै १४ जना युवाबाट ठूलो रकम असुल गरे पनि युवाहरूलाई गन्तव्य मुलुकमा पठाएन । रकम भुक्तानी गरेको धेरै दिनसम्म पनि म्यानपावर कम्पनीले गन्तव्य मुलुक नपठाएपछि उनीहरूले ठगिएको महसुस गरे । सबैले वैदेशिक रोजगार विभागमा आफू ठगिएको भन्दै उजुरी दिएको विभागले जनाएको छ । 

युवाहरूको उजुरीका आधारमा छानबिन गर्दा मुन ह्युमन रिसोर्सेस कम्पनीले युवाहरूबाट करिब डेढ करोड रकम ठगी गरेको पाइएको विभागले जनाएको छ । उजुरीका आधारमा अनुसन्धान गर्दा कम्पनीका सञ्चालक तथा अन्य व्यक्तिले आकर्षक तलब सुविधासहित नेदरल्यान्ड, क्रोसिया र माल्टा लगिदिने भन्दै रकम ठगी गरेको पाइएको हो ।

विभागले मुन ह्युमन रिसोर्सेसका सञ्चालकहरू प्रकाश राई, दीपक श्रेष्ठ, सुवास थापाविरुद्ध वैदेशिक रोजगार ऐनको दफा ४४ बमोजिम वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । विभागले कम्पनीका सञ्चालकले ठगी गरेको एक करोड ४४ लाख ३२ हजार रुपैयाँ र सो रकमको ५० प्रतिशतले हुन आउने हर्जाना क्षतिपूर्तिबापत ७२ लाख १६ हजारसहित दुई करोड १६ लाख रुपैयाँ मागदाबी गरेको छ । 

दक्षिण अफ्रिका पठाइदिने भन्दै ठगियो २६ लाख 
वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिने भन्दै २६ लाख रुपैयाँभन्दा बढी ठगी गर्नेलाई वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । तिलमाया गुरुङ, अर्जुनसिंह गुरुङ, खिमविक्रम थापा र प्रेमकुमारी गुरुङलाई दक्षिण अफ्रिकामा सुपरमार्केटको काममा पठाइदिन्छु भन्दै खिमप्रसाद गुरुङले रकम असुल गरेको पाइएको विभागले जनाएको छ । 

गुरुङले मासिक तलब ८० हजार रुपैयाँ तलब हुने साथै अन्य सेवा–सुविधा पनि पाइने भन्दै उनीहरूबाट प्रतिव्यक्ति सात लाख रुपैयाँ माग गरेका थिए । उनको विश्वासमा परी तिलमाया गुरुङ, खिमविक्रम थापा र प्रेमकुमारी गुरुङले प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ तथा अर्जुनसिंह गुरुङले सात लाख रुपैयाँसहित २६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

तर, खिमप्रसाद गुरुङले रकम असुल गरे पनि दक्षिण अफ्रिका नपठाएपछि पीडितहरूले विभागमा उजुरी दिएका थिए । खिमप्रसादले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ बमोजिमको कसुर अपराध गरेकाले सजायको मागसहित विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । साथै, विभागले बिगो रकम र सोको ५० प्रतिशतले हुन आउने हर्जानासमेतको मागदाबी गरेको छ ।

सर्बिया पठाइदिने भन्दै ठगी
सर्बिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले अर्जुन पोखरेलविरुद्ध न्यायाधिकरणमा उजुरी दायर गरेको छ । पोखरेलले सुदीप तमाङलाई वैदेशिक रोजगारीका लागि मासिक ६ सय युरो रकम कमाइ हुने कृषिसम्बन्धी काममा सर्बिया पठाइदिन्छु भनी आश्वासन तथा प्रलोभन देखाई चार लाख रुपैयाँ ठगी गरेको विभागले जनाएको छ । पीडितको उजुरीका आधारमा छानबिन गर्दा तामाङले ठगी गरेको पाइएपछि वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ बमोजिमकोे बिगो रकमसहित सोको २० प्रतिशत हुन आउने हर्जाना रकमसहितको मागदाबी विभागले गरेको छ । 

ठगी गर्ने म्यानपावर निलम्बन
वैदेशिक रोजगार विभागले युनाइटेड म्यानपावर एजेन्सीलाई निलम्बन गरेको छ । कम्पनीले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा युक्रेन, रोमानिया एवं पोल्यान्ड पठाउने भनी रधध कम लिई सम्बन्धित मुलुकहरूमा नपठाएको पाइएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जान भनी पैसा बुझाए पनि फिर्ता नगरेपछि पीडितहरूले उजुरी दिएका छन् । उजुरीका आधारमा संस्थाका सञ्चालकलाई पटक–पटक सम्पर्क गर्दासमेत विभागमा उपस्थित नभएको विभागले जनाएको छ । सम्पर्कमा पनि नआएपछि मुद्दाको किनारा नभएसम्मका लागि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ (७) बमोजिम कम्पनीलाई निलम्बन गरिएको विभागले जनाएको छ ।

विभागले युरो एसिया एचआर सोलुसन म्यानपावर कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूबाट प्रवेशाज्ञा शुल्क, सेवा–शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएको पाइएपछि कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना भुक्तान गर्न लगाइएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । कम्पनीलाई बढी लिएको रकम सम्बन्धित व्यक्तिहरूलाई नै फिर्ता गर्न लगाई आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन सचेत गराइएको उनले बताए । 

यस्तो छ सजायको व्यवस्था
कसैले वैदेशिक रोजगारीमा लगिदिन्छु भन्दै झुटो आवश्वासन दिई प्रलोभन देखाई कुनै रकम लिएमा अधिकतम पाँच लाख रुपैयाँसम्म जरिवाना र सात वर्षसम्म कैद हुनेछ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम इजाजतपत्र नलिईकन कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने छैनन् । यसो गरेमा प्रलोभन देखाई रकम असुल गरेमा बिगो रकम र सोको २५ प्रतिशत हुने रकम हर्जानासहित असुल गर्नुपर्नेछ । त्यस्तै, पीडकलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ ।  

विदेश पठाइदिन्छु भनेर कसैसँग रकम असुली गरी विदेश नपठाएमा बिगो रकम र सोको ५० प्रतिशत हुन आउन रकम हर्जानाबापत असुल गरिनेछ । पीडकलाई तीनदेखि पाँच लाख रुपैयाँ जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुन सक्नेछ । सरकारले खुला नगरेको मुलुकमा कामदार पठाएमा तीन लाख रुपैयाँदेखि सात रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि पाँच वर्षसम्म कैद हुनेछ । कामदार पठाउन रकम असुल गरिसकेको, तर कामदार पठाइनसकेको भए आधा सजाय हुनेछ । प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन बढी लिएमा नलाग्ने वा बढी लिएको शुल्क वा खर्च विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न लगाई एक लाख रुपैयाँसम्म जरिवाना गर्नेछ । 

टर्की पठाइदिने भन्दै सवा करोड ठगी

पोखरा महानगरपालिका– ५ लेखनाथ टोलकी ३२ वर्षीया सुरुचि भुजेल

टर्की पठाइदिने प्रलोभनमा ३० पीडितसँग एक करोड १५ लाख ९९ सय हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखरा महानगरपालिका– ५ लेखनाथ टोलकी ३२ वर्षीया सुरुचि भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पोखराबाट पक्राउ गरेको हो ।

प्रहरीले सात दिनको म्याद लिएर उनीमाथि अनुसन्धान गरिरहेको छ । सिआइबीका अनुसार भुजेलसहित पोखरा– ५ लेखनाथ टोलका ४२ वर्षीय विनोद श्रेष्ठले टर्कीमा मासिक १४ सय अमेरिकी डलर कमाइ हुने प्रलोभन देखाई पीडितसँग रकम उठाएका थिए ।

त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए । टर्कीमा भूकम्प गएको र त्यसपछिको पुनर्निर्माणमा कामदार आवश्यक रहेको भन्दै उनीहरूले पीडितलाई विश्वासमा लिएका थिए। संयुक्त राष्ट्रसंघले पुनर्निर्माणमा सहयोग गर्ने हुँदा नेपाली मजदुर त्यसैका लागि आवश्यक रहेकोसमेत उनीहरूले बताउने गरेका थिए । उनीहरूबाट ठगिएका अन्य पीडितलाई पनि प्रहरीको सम्पर्कमा आउन सिआइबीले अनुरोध गरेको छ ।

मानव तस्करी गिरोहका प्रमुख नाइके गौतम जेल चलान
अमेरिका मानव तस्करी गर्ने गिरोहका प्रमुख नाइके हस्त गौतम जेल चलान भएका छन् । उनीविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीसहित गिरोहका सदस्य कमल तामाङ पनि अदालतको आदेशअनुसार जेल चलान भएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । रुकुमका गौतमलाई प्रहरीले गत महिना भारतको सीमाबाट पक्राउ गरेको थियो ।

अमेरिका मानव तस्करी गर्ने यो सबैभन्दा ठूलो गिरोह भएको प्रहरी दाबी छ । नाइके पक्राउ परे पनि एजेन्टहरू भने अझै विभिन्न देशमा सक्रिय छन् । उनीहरूलाई प्रहरीले फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । 

स्याङ्जाको वालिङ स्थायी घर भएका कुलप्रसाद काफ्ले, काभ्रे रोशीका लोकेश लामा, काभ्रे नमोबुद्धका जेम्स भन्ने पूर्ण लामा, गुल्मीकी मीनाकुमारी थापालाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरूमध्ये काफ्ले कोलम्बिया तथा दुबईमा बसेर मानव तस्करीको धन्दामा सक्रिय व्यक्तिहरू हुन् । उनीहरूलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत समेत प्रक्रिय अघि बढाउने तयारी गरेको छ । दुबईमा बस्ने थापाले मानव तस्करीको रकम हुन्डीमार्फत कारोबार गर्न सघाउँदै आएकी थिइन् । 

गौतमको गिरोहविरुद्ध जाहेरी दिनेमध्ये एक युवकले आठ वर्ष कतार र साउदी अरेबियामा ट्रक चलाएर केही पैसा जम्मा गरेका थिए । तर, अमेरिकी सपनामा त्यो पैसा गुमाएका छन् । फेसबुकमार्फत चिनजान भएका हस्त गौतमले उनलाई अमेरिका लैजाने सपना देखाएका थिए । त्यसका लागि सुरुमा काठमाडौंमा पाँच लाख बुझाए । जसअनुसार भिजिट भिसामा १८ माघ ०७९ मा दुबई लगेपछि थप पाँच लाख मेक्सिकोका लागि भनेर मागेका थिए । तर, त्यहाँ उनलाई केही भारतीयहरूले बन्धक बनाए । एक हजार डलर फिरौती तिरेर उनी २ वैशाख ०८० मा नेपाल फर्किएका थिए ।

त्यसयता एजेन्टहरू सम्पर्कविहीन भएपछि उनी प्रहरीमा पुगेका हुन् । प्रहरीले कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सो समूहले एकै परिवारसँग एक करोड रुपैयाँसम्म अमेरिकाको सपना देखाएर विभिन्न देश पुर्‍याई अलपत्र पारेको थियो । गिरोहका नाइके गौतम आफैँ पनि अवैध बाटोबाट अमेरिका गएका व्यक्ति हुन् । पक्राउ परेपछि उनले धेरैलाई आफूले अमेरिका छिराएको दाबी गरेका छन् । 

ad
ad