१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इजरायलमा निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

इजरायलमा निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, 'यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।'

सरकारले घटनामा मृत्यु भएकाको शव पनि नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयलाई इजरायल सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । बेपत्ताको खोजीका लागि इजरायली सरकारसँग समन्वय गर्ने र घाइतेहरूलाई आवश्यक उपचारको व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

त्यस्तै नेपाल फर्कन चाहने इजरायलमा रहेका नेपाली ल्याउन सरकारले हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको जहाज पठाउने छ ।

प्रकाशित : आश्विन २२, २०८० १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?