कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मिर्गौला रोग बोकेर वैदेशिक रोजगारीबाट फर्कंदै

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसिया र खाडी देशमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा मिर्गौला रोगसम्बन्धी जोखिम रहेको एक अध्ययनले देखाएको छ । बेलायतको बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाका दुई स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ७ सय १८ जना र स्थानीय ७ सय २० जनाबीच गरिएको तुलनात्मक अध्ययनमा यस्तो जोखिम औंल्याइएको हो ।

मिर्गौला रोग बोकेर वैदेशिक रोजगारीबाट फर्कंदै

अनुसन्धानमा वैदेशिक रोजगारीमा कम्तीमा २ वर्ष बसेका र फर्केको १२ महिनाभन्दा कम अवधिभित्रका कामदारहरू समेटिएका थिए । उनीहरूमाथि गरिएको अध्ययनले मिर्गौलाले रगत फिल्टर गर्ने अनुपात जाँच्न ग्लोमेरुलर फिल्ट्रेसन क्षमतामा कमी आएको देखाएको छ । अनुसन्धानमा ग्लोमेरुलर फिल्ट्रेसन वैदेशिक रोजगारीबाट फर्केका कामदारमा ५.८ प्रतिशत र स्थानीयमा ३.६ प्रतिशत देखिएको छ ।

यस्तो परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्त्वको मात्रालाई हेरी त्यसमा उमेर र लिंगलाई समायोजन गरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निर्क्योल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्यक्षमतामा कमी आएको मानिन्छ । अनुसन्धानमा वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूको क्रियटिनिनको मात्रा पनि स्थानीयको भन्दा बढी देखिएको छ । क्रियटिनिनको मात्रा वैदेशिक रोजगारीबाट फर्केकामा ०.८८ एमजीडीएल देखियो भने यही मात्रा स्थानीयमा ०.७२ देखियो । अनुसन्धानमा स्थानीयमा भन्दा वैदेशिक रोजगारीबाट फर्केकाको पिसाबमा प्रोटिनको मात्रा धेरै देखिएको छ । न्याम्सका मिर्गौला रोग विशेषज्ञ डाक्टर अरुण सेढाईंले मिर्गौलाको रोग समय क्रममा मुटुको समस्यासँग सम्बन्धित हुने भएकाले यसबारे गम्भीर हुनुपर्ने बताए ।

बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपालले धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरेको यस अध्ययनमा मधेश प्रदेशको प्रदेश जनस्वास्थ्य कार्यालय, संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) र बेलायतकै युनिभर्सिटी कलेज लन्डनले प्राविधिक र वैज्ञानिक सहयोग पुर्‍याएका थिए । यो अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएका कामदारमा उच्च रक्तचापको समस्या पनि बढी रहेको देखाएको छ ।

तुलनात्मक अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका ३८ प्रतिशतमा उच्च रक्तचापको समस्या देखियो भने स्थानीय १९.४ प्रतिशतमा । यो अध्ययनमा समेटिएका वैदेशिक रोजगारीबाट फर्किएका कामदारमध्ये ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूले औसतमा देखिन १०.७ घण्टा काम गरेको र ३०.९ प्रतिशतले औसतमा महिनाको एक दिन पनि बिदा लिने नगरेको बताएका थिए । अनुसन्धानमा संलग्न बेलायतको बर्नमथ विश्वविद्यालयका डाक्टर निर्मल अर्यालले यो अनुसन्धानले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूमा स्वास्थ्यबारे लामो समयसम्म अनुसन्धान जरुरी रहेको बताए । उनले भने, ‘यो अध्ययनले देखाएका निष्कर्षहरूका आधारमा वैदेशिक रोजगारीसम्बन्धी विद्यमान नीतिहरूमा फेरबदल गर्नुपर्ने देखिन्छ ।’

प्रकाशित : आश्विन २३, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?