कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

सुनसरी-मोरङका उद्योगमा महिला मजदुरको भरथेग 

वैदेशिक रोजगारीको लहर चल्दा उद्योगमा घटे पुरुष कामदार‚ बस घरमै पठाएर उद्योगले महिलालाई राेजगारीमा प्रोत्साहित गर्दै
विनोद भण्डारी

विराटनगर — रंगेली थाना टोलकी पुनम मण्डल दशकदेखि मजदुरीका लागि २८ किलोमिटर टाढा पर्ने विराटनगरको रानीस्थित रघुपति जुट मिल पुग्छिन् । हरेक बिहान ७ बजे पुगेर साँझ घर फर्कन्छिन् । जुट मिलको लुममा काम गरेर दैनिक सरदर १२ सय रुपैयाँ कमाउने गरेकी उनलाई लिन मिलको बस घरैमा पुग्छ र साँझमा त्यसैले नै ल्याइदिन्छ ।

सुनसरी-मोरङका उद्योगमा महिला मजदुरको भरथेग 

पुनमसँगै काम गर्ने त्यहीँकी मीना साह पनि छिन् । मजदुर बस चढेर रघुपति जुट मिलमा मजदुरी गर्न आउन थालेको सात वर्ष बित्यो । उक्त मिलमा २ हजार २ सय जना मजदुर छन् । तीमध्ये आधाभन्दा बढी महिला छन् । मिलका प्रशासन प्रमुख श्यामकुमार आचार्यका अनुसार महिला मजदुर उद्योगका अधिका‌श विभागमा छन् ।

रघुपतिमा ३५ किलोमिटर टाढाको सुनवर्षीसहित रंगेली, जहदा, कटहरी र सुनसरीको बर्जुबाट महिला मजदुरीका लागि आउँछन् । 'महिलाहरु ड्युटीमा नियमित र अनुशासित छन् । उद्योगलाई उनीहरुको ठूलो भर छ,' आचार्यले भने‚'सबैलाई मिलको बसले बिहान ल्याएर बेलुका घर पुर्‍याइिदने व्यवस्था छ ।'

सुनसरीको सोनापुरस्थित अर्को जुट उद्योग अरिहन्त मल्टिफाइवरमा ४ हजार ६ सय मजदुर छन् । यसमा महिला संख्या २ हजार ४ सय छ । 'हाम्रो उद्योग दिनरात गरेर चार सिफ्ट चल्छ,सबै सिफ्टमा महिला कामदार ड्युटीमा नियमित छन्‚' उद्योगका प्रशासन प्रमुख गोविन्द बजगाईले भने, 'इनरुवा‚ बर्जु, चिमडी, अमडुवा, साहेबगञ्ज क्षेत्रका महिलाले उद्योग धान्दै आएका छन् ।'

उद्योगले महिलालाई बस पठाएर घरबाट ल्याउने र काम सकिएपछि पुर्‍याउने गर्दै आएको छ । उद्योगको बस हुने भएकाले रातीको सिफ्ट पनि महिला कामका लागि आउने गरेका छन् । वैदेशिक रोजगारीमा जाने लहर चल्दा उद्योगमा काम गर्ने पुरुषको संख्या बर्सेनि घट्दै छ । जुटको बोरा, झोला, ब्याग र कपडा उत्पादन गर्ने यो उद्योगमा महिला मेसिन अपरेटरदेखि सिलाइबुनाइको काम गर्ने गरेको उनले बताए ।

सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्समा ४ हजार कामदारमध्ये १ हजार ७ सय ५० महिला कामदार छन् । धेरै संख्या महिलाकै छ । उद्योगका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार उद्योगमा सुनसरी-मोरङसँगै पहाडी जिल्ला र पश्चिमको कैलाली, कञ्चनपुर, बाँके, नेपालगञ्ज र अछामसम्मका महिला कामदार छन् । बाहिरका महिला मजदुरलाई उद्योगले आवासको व्यवस्था पनि गरेको छ । पोखरेलले भने 'उद्योगले डेढ सय मुक्तकमैया महिलालाई पनि मजदुरका रुपमा नियुक्ति दिने तयारी गरेको छ ।'

रोजगारीका लागि पुरुष विदेश जाने क्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगलाई महिला मजदुरले भरथेग गर्दै आएका छन् । दुई जिल्लामा साना ठुला झण्डै पाँच सय उद्योगमा ५० हजारभन्दा बढी मजदुर छन् । यसमा आधाभन्दा बढी महिला रहेको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूणामणि भट्टराईले बताए ।

पुरुष मजदुरको अभाव बढेसँगै यहाँका उद्योगले पनि महिला कामदारलाई आकर्षित गर्न घरबाट बसमा ल्याएर काम सकिएपछि पुर्‍याउने सुविधा र सुरक्षाको प्रबन्ध गरेका छन् । उद्योगले महिला मजदुरको रोजगारीको स्थायित्वका साथै व्यक्तिगत सुरक्षाको प्रबन्धसमेत मिलाएका छन् । यस क्षेत्रका खासगरी ऊनी धागो‚ जुट‚ बिस्कुट, मैदा‚ चाउचाउ, साबुन ,चप्पल लगायतका उद्योगमा महिला मजदुरको भरथेग छ ।

यहाँका सञ्चालनमा रहेका विभिन्न ६ वटा जुट मिलमा कार्यरतमध्ये झण्डै ८० प्रतिशत मजदुर महिला छन् । ‘सबै जुट उद्योग महिला मजदुरमै निर्भर छन् भन्दा पनि हुन्छ,' जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छा भन्छन्, 'जुट उद्योगमा महिलाले मजदुरी नगर्ने हो भने उत्पादन बन्द हुने स्थिति छ । पुरुष पाइनै छाड्यो‚ रोजगारीका लागि आउने महिला मात्र छन् ।' उनका अनुसार यहाँका जुट उद्योगमा झण्डै १५ हजार मजदुर छन् । यसमा महिला संख्या झण्डै ७० प्रतिशत छ ।मोरङको कटहरी, मिल्स एरिया, हात्तीमुढा र सुनसरीको दुहबी तथा सोनापुरमा रहेका जुट लगायतका उद्योगमा काम गर्न ४० किलोमिटर टाढाबाट पनि महिला मजदुर आउने गरेका छन् ।

दुहबीको क्वालिटी बिस्कुट उद्योगका पाँच सय मजदुरमध्ये आधाभन्दा बढी महिला छन् । 'उनीहरु पुरुष सरह नै श्रम गर्छन् । उद्योगले दिने तलब लगायत सुविधामा विभेद गरेको छैन,' उद्योग सञ्चालक श्याम काबराले भने, 'उद्योगमा महिला मजदुरको भरथेग छ । पुरुषको अभाव भएपछि महिला मजदुरको संख्या थपिने क्रम पनि बढ्दै छ ।' उनका अनुसार करिडोरका अन्य उद्योगमा पनि महिला मजदुरको संख्या उल्लेख्य छ ।

प्रकाशित : आश्विन २२, २०८० १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?